Saturday, May 19, 2018

पार्टी एकिकरणको सार्थकता

                    कुनै रोग संग लडिरहेकाहरुका लागि नयाँ औषधी वा उपचार विधीको आविष्कार थप आशाको किरण वन्दछ । जसले उनिहरुको जीवनमा नयाँ उत्साह पैदा गर्दछ र उपचार पछिको सुखद जीवनको कल्पनाले उस्लाई पिडा विर्सन मद्दत गर्दछ । तर वास्तविक जीवनमा त्यस आविष्कारको सार्थकता तवमात्र सिद्ध हुन्छ जव त्यो औषधी वा उपचार पद्दति विरामीको पहुँच सम्म आईपुग्छ र उसले उपचार पाउछ । रोग, विरामी र उपचारका सन्दर्भको यो उदाहरण राजनीतिक जीवनमा पनि उस्तै हो । कुनै राजनीतिक घटनाक्रम, परिवर्तन वा अन्वेषण आम जनताका लागि उत्साह पैदा गर्ने विषय हुनसक्छन्, सम्भव छ कि ति घटना वा परिवर्तन वा अन्वेषणले सुखद भविष्यको कल्पनामा विगत र वर्तमानका पिडा विर्सन जनतालाई मद्दत पनि गरोस् । तर ति घटना, परिवर्तन वा अन्वेषण जनताको पहुँच भित्र आईपुग्यो कि पुगेन ? तिनको परिणामले जनताको जीवनलाई छोयो की छोएन ? त्यसले मात्र तिनको सार्थकतालाई सिद्ध गर्दछन् ।

                 नेपालको राजनीतिका पछिल्ला वर्षहरु विभिन्न सुखद घटनाहरुले भरिएका छन् । सामन्ती राजतन्त्रको विरुद्धको लामो संघर्षले सफलता प्राप्त गरेको छ, मुलुकको ईतिहासमा नै पहिलो पटक जनताले आफ्नो सम्विधान आफै वनाएर लागु गरेकाछन् । समाजका हेपिएका र पछाडी पारिएकाहरु पनि राज्य सञ्चालनमा उपस्थित हुनसक्छन् भन्ने देखिएको छ । पुजिवादी जनवादी क्रान्ति सम्पन्न भई जनवादी सरकार स्थापना भएको छ आदि इत्यादि । तर मुख्य कुरा के हो भने तिनले परिवर्तनलाई जनताको पहुँच भित्र ल्याईपुर्यायो कि पुर्याएन ? तिनको परिणामले जनताको जीवनलाई छोयो की छोएन ? यदि त्यसो हुन सकेको होईन भने तिनको सार्थकतालाई सिद्ध गर्न सकिदैन ।

                         मुलुकमा भर्खरै दुई ठुला राजनीतिक दलहरु विच एकिकरण सम्पन्न भएका छन् । जसले नेपाली समाज एकपटक मज्जाले तरङ्गित भएको छ । यद्दपि राजनीतिक वृत्तमा कुनै दलहरुको गठन, विघटन, पुनःगठन, एकिकरण वा विभाजन सामान्य घटना हुन् । वहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्था अन्तरगत त यस्ता घटनाहरु खासै उल्लेख्य पनि होईनन् । नेपालमा पार्टी पद्दतिको इतिहास एकिकरण, विभाजन र पुनःएकिकरणवाट भरिएको छ । नेपाली राष्ट्रिय कँग्रेस र नेपाल प्रजातन्त्र कँग्रेस एकिकरण हँुदै नेपाली कँग्रेस वने देखि यो वन्ने र भत्कने क्रम अहिले सम्म पनि जारि छ । ६ सालमा गठन भएको कम्युनिष्ट पार्टी कति टुक्रमा विभाजित भयो र कतिपटक को को मिले भनेर पिएच डी थेसिस नै लेखियो । राजनीतिक दलहरु माथि प्रतिवन्ध लगाईएको र सत्ताको खेलमा संलग्न हुन नपाएको अवस्थामा समेत दलहरु विभाजित तथा एकिकृत हुने गरेवाट केवल सत्ता स्वार्थले मात्र उनिहरुलाई विभाजित वा एकिकृत गर्छ भन्ने तर्कको खण्डन गर्दछ । “माओका कति जना श्रीमती थिए भन्ने विषयमा समेत नेपाली कम्युनिष्टहरु विभाजित भएका छन्” भन्ने ठट्यौली यहाँ नेर सान्दर्भिक छ । पञ्चायतको अन्त्य पछि पनि पञ्चायती लिगेसी र राजतन्त्रको स्वार्थ रक्षाका लागि खोलिएको राष्ट्रिय प्रजातन्त्र पार्टी खुल्नु अघी नै फुट्यो । राप्रपा कतिचोटी किन फुट्यो र कतिचोटी किन पुनः जुट्यो भन्ने विषयमा पनि पिएच डी थिसिस नै लेखिन वेर छैन ।

                    तत्कालिन नेकपा माओवादीको प्रचण्ड समुह, वैद्य समुह, वावुराम समुह, विप्लव समुह जस्ता अनेकौं समुहमा विभाजन पछिल्लो कालमा देखिएको उल्लेख्य विभाजन थियो भने संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको एकिकरण अर्को उल्लेख्य एकिकरणका घटनाहरु थिए । यस विच नयाँ शक्ति पार्टी, साझा पार्टी जस्ता उत्तर आधुनिकतावादी पार्टीहरुको गठनले पनि नेपाली समाजलाई तरंगित गर्यो । सानो र नयाँ भए पनि विवेकशील साझा पार्टीको एकिकरण पछिल्लो कालमा चर्चाको विषय नै रह्यो ।

                  गतसाल आमचुनावको पूर्व सन्ध्यामा मुलुकका दुई ठुला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकिकरण गर्ने घोषणा गरे । आम जनतालाई पारेको प्रभावका आधारमा मुल्यांकन गर्ने हो भने यो घोषणा यस अघि भएका सवै एकता र विभाजनका घोषणा मध्य सर्वाधिक महत्वको रह्यो । यसले आम जनतामा यति ठुलो उत्साह पैदा गर्यो की एकिकरण पुर्व नै केवल गठवन्धन कै भरमा पनि यसले करिव दुईतिहाई जनमत कव्जा गर्यो । त्यस घटनाले मुख्य विपक्षि दललाई यस्तो विक्षिप्तता तर्फ धकेलिदियो कि उ आज निर्वाचनको महिनौं सम्म पनि समिक्षाका नाममा अकर्मण्यताको सिकार भएको छ । उता हुन्छ र हुन्नका विचको लामो जिद्दोजहद पछि भर्खरै दुईदल विच एकिकरण सम्पन्न भएको छ । दुवै दलका नेताहरु यसलाई सफल घटनाका रुपमा व्याख्या र विश्लेषण गरिरहेका छन् भने र कार्यकर्ताहरु दीपावली गरिरहेका छन् । जनतामा पनि एक प्रकारको आशा संचारित भएको छ ।

                       कम्युनिष्ट पार्टी गरिखाने वर्गको पार्टी हो । एउटा यस्तो पार्टी जसले गरिखाने वर्गलाई संगठित र शिक्षित गर्दै शासकीय भूमिकामा मात्र पुर्याउदैन वरु त्यस वर्गको उन्नति  प्रगतिमा अवरोध पुर्याउने सम्पूर्ण शोषण र उत्पिडनका जालाहरुलाई च्यातचुत पारेर मानवमुक्तिको क्षेत्रमा एउटा अभूतपूर्व योगदान पुर्याउछ । यस अर्थमा यो सम्पूर्ण मानव समाजको हितकारी पार्टी हो । यस्तो पार्टी विभाजित रहनाले गरिखाने वर्गका मुक्तिका चाहनाहरु र त्यस चाहनाको पुर्तिका लागि आवस्यक पर्ने संकल्प र संघर्षहरु पनि विभाजित हुनजाने भएकोले कम्युनिष्ट पार्टी एकिकरणको घोषणाले कुनै रोग संग लडिरेहका विरामीहरु नयाँ औषधी वा उपचार विधीको आविष्कारले आशावादी र उत्साहित भए झैं उनिहरुमा पनि आशा र उत्साह सञ्चार हुनु स्वभाविक छ । तर एकिकरणको घोषणा आफैमा पर्याप्त विषय भने होईन । नयाँ पनि होईन । अव एकिकरणको सार्थकता सिद्ध गर्ने जिम्मेवारी नयाँ पार्टीका नेता तथा कार्यकर्ताका काँधमा आएको छ । यसले शोषण र उत्पिडन संग लडिरहेका नेपाली कामदार वर्गका लागि सुदुर भविष्यको कोरा कल्पना वाँडेर पिडा विर्साउने काम मात्र गर्छ वा शोषण र उत्पिडनवाट मुक्ति पाउने र उनिहरुको वास्तविक जीवनमा परिवर्तन देखिने गरि संघर्षको सहि रुप, विधि र प्रक्रिया तय गर्छ, पार्टी एकिकरणको सार्थकता त्यसैमा भर पर्नेछ ।

धनगढी पोष्ट, २०७५ जेष्ठ ५

Wednesday, May 16, 2018

रोमाण्टिसिज्मको नयाँ अध्याय

नेकपा माओवादी एक वेला रहस्य थियो, रहस्यमय थियो । उस्का शव्दभण्डारमा क्रान्ति, मुक्ति, ध्वंश, छलाङ्ग, दुश्मन, वंकर आक्रमण, प्रत्याक्रमण जस्ता शव्दालंकारले भरिभराउ थिए । अहिले त्यसो छैन । आक्कल झुक्कल आफ्नो इन्फेरियारिटी लुकाउन प्रदर्शन गर्ने गरिएको सुपेरियारिटीलाई (जस्तो कि उनिहरुले एकतावार्ताका सन्दर्भमा जनयुद्ध शव्दलाई लिएर प्रदर्शन गरे) एकापट्टी राख्ने हो भने समग्रमा भने उनिहरु निरास छन्, हतास छन् । न विगत प्रति गर्व छ न भविष्यको विश्वास । ट्रिक र खेलखण्डले नै सत्तासिन वनाउदो रहेछ त विगतमा त्यत्रो दुःख किन ? यो प्रश्न माओवादीका मध्यम स्तरका नेता कार्यकर्ताहरुको हो भने विगतमा त्यत्रो वलिदानी किन ? यो दोस्रो प्रश्न आम कार्यकर्ताको हो । यहाँ माओवादी भन्नाले अहिलेको माओवादी केन्द्रको मात्र कुरा छैन । त्यस वटवृक्षका सवै हाँगाविँगाको कुरा हो ।

तत्कालिन संघर्षका दुईपाटा थिए । एउटा गरीवीवाट मुक्ति पाउन, अर्काे सम्मान पाउन । एउटा क्रान्तिकारी समर्पण, अर्काे दाउपेच । एउटा सामाजिक परिवर्तनको लालसा, अर्काे तख्ता पलट । एउटा इमान्दार कार्यकर्ताहरुको लडाई, अर्काे चलाक नेताहरुको वठ्याई । यस्ता दुईपाटा अनेक थिए । तर त्यो व्ल्याक एण्ड ह्वाईटमा थिएन । विचमा कतै ग्रे लाईन थियो र त्यो ग्रेलाईन सक्रिय र चालक थियो । त्यो ग्रे लाईन पनि नेतृत्वमा सत्ता प्राप्ति पछिको कल्पनाले जन्माएको थियो जसले उसलाई नाफा घाटाको हिसाव गर्न प्रेरित गर्यो । जसले अन्नतः संघर्षलाई छलछामको वाटो हुँदै सम्झौताको आँगनमा पछार्न प्रेरित गर्यो । अर्काे तर्फ कार्यकर्तामा भने क्रान्तिकारी कल्पनाले जन्माएको थियो जसले उसलाई संघर्षमा अन्ध भएर लाग्न अभिप्रेरित गरेको थियो । ‘विजय वा मृत्यु’ को रोमाञ्चकारी फेण्टासी । अझ यसलाई रोमाण्टिसिज्म भन्दा ठिक पर्ला । हो त्यो ग्रे लाईन थियो रोमाण्टिसिज्म ।

रोमाण्टिसिज्मले युद्धको त्रासदी प्रति सचेत गराउदैन । यस अघि विश्वभरी लडिएका संघर्षका गाथा, विजयी युद्धहरु, लडाकाहरुका नायकत्व, गीत–साहित्य जनित सम्वेग, वाजाका जोशिला धुनहरु, नेताका कासनहरु, सहयोद्धाका प्रेरणाहरु, वदलकाका भावनाहरु जस्ले सालोडोलोमा उस्को क्रान्तिकारी रोमाण्टिसिज्मको निर्माण गरेको हुन्छ, थियो । जव युद्धको त्रासद देखियो कैयौं लडाकाहरु विचैमा युद्ध छोडेर भागे । कति सम्झौता पछिको वर्तमान देखेर पछुतोमा परे । नेतृत्व सत्ता कव्जा गर्न नसकेर सम्झौतामा टुंगिनु परेकोमा निरास छ । सरकारमा पुग्दा त झन उस्को हिजोको फेण्टासी चकनाचुर भएको छ । जसले उसलाई डिप्रेसनमा लगेको छ । उस्का कामहरु भविष्यले होईन विगतले प्रभावित छन् । कार्यकर्ता एकान्तमा सोच्ने गर्छ, के यसैका लागि लडियो त लडाई ? वेला वेलामा विगत प्रति गर्व गर्छ, आफुले लडेका लडाईहरु, दुस्मनलाई मात दिईएका दृष्यहरु उस्को सरिर जिरिङ्ग हुन्छ । जोसिन्छ । भविष्य प्रति आशावादी हुदै उ थप संघर्षमा लाग्ने प्रण गर्छ । अनि एकैछिनमा जव उ छाति नापेर गरिएको योग्य र अयोग्यको अपमानजनक विभाजन, केहि लाख पैशामा किनिएको उस्को समाजवादी सपना, नेताहरुको सत्तालिप्सा र नवधनाढ्य वर्गमा रुपान्तरण आदि सम्झन्छ उस्को उत्साहमा चिसो पानी पोखिन्छ, उ थलिन्छ । युद्धकालको व्ल्याक एण्ड ह्वाईट प्रष्ट देखिन्छ, ग्रेलाईन र त्यसको प्रभाव भने खोज्नुपर्छ । कारण नहेरी परिणाम मात्र हेर्दा गलत निश्कर्षमा पुगिन्छ ।

रामाण्टिसिज्मले सचेत प्रयत्नमा धमिराको काम गर्छ । यसले नचाहिने वेलामा जसरी दुस्साहसवादलाई प्रश्रय दिन्छ त्यसरी नै नचाहिने वेला मै निराशावादलाई प्रश्रय दिन्छ । तत्कालिन संघर्षमा सामेलहरुको वर्तमान अवस्था त्यहि हो । चाहे प्रचण्ड, किरण, वावुराम वा विप्लव हुन् चाहे गुमनाम वाँचिरहेका हजारौं कार्यकर्ता हुन् । उनिहरुलाई विगतले लखेट्दैछ, झस्काउदै छ । नेता हुन् या कार्यकर्ता उनिहरुका अभिव्यक्तिहरुका एउटा झल्लाहट, अनौठो पिडा, वित्तिष्णा र पछुतो देखिदैछ । इतिहासको आवस्यकताले लडिएको भनिएको संघर्षको गाथा पछुतोले भरिएको भयो भने त्यो संघर्ष सचेत प्रयत्न थिएन भन्ने नै वुझ्नु पर्दछ । उनिहरु हिजोको रोमाण्टिसिज्मले पारेको घाउ समाजवादको अर्काे रोमाण्टिसिज्मको लेपले भर्ने प्रयत्नमा छन् ।

रमाईलो चाँही के भईरहेको छ भने रोमाण्टिसिज्मको यस नयाँ अध्यायमा उनिहरुले नेकपा एमालेलाई पनि घसिटिरहेका छन् । एमाले पनि त्यस जुत्तामा खुट्टा ताछेरै भएपनि छिर्न छिराउन तम्तयार छ । किन ? यो अर्काे रहस्य छ । रहस्यमय छ । संसार भरीका सवै संघर्ष, क्रान्ति, युद्धहरु स्वार्थहरुको एकत्रिकरणवाट सुरु हुन्छन्, भएका हुन् र स्वार्थको विकिर्णता संगै समाप्त हुन्छन्, भएका हुन् । स्वार्थ कहिले व्यक्तिगत हुन्छ कहिले समुहगत हुन्छ । कहिले व्यक्तिगत र समुहगत संगै पनि हुन्छ । ति स्वार्थहरुको सम्वोधनका लागि, प्राप्तिका लागि गरिने सचेत प्रयत्नहरु सफलतामा टुंगिन्छन् । असफल भए पनि कम हानिकारक, कम दुखदायी हुन्छन् । प्रयत्न असचेत हो भने, केवल रोमाण्टिसिज्म प्रेरित हो भने स्वार्थहरु फेरी एक पटक एकत्रिकरण त होलान, अर्काे विकीर्णता सम्मका लागि । अहिले फेरी त्यस्तै दृष्य देखिदै छ । रोमाण्टिसिज्मको अघिल्लो अध्यायको परिणतिवाट पाठ नसिकिकनै सुरुहुन लागेको नयाँ अध्यायको परिणती अधिकांश हिन्दी सिनेमाका जस्तै प्रेडिक्टेवल छ ।