लामो समय सम्मको देशीय सामन्तवादको सिमित सम्प्रभुता र विदेशी एकाधिकार पूँजीको अधिनताले देशीय पूँजीको विकासमा मात्र अवरोध खडा गरेको छैन अपितु त्यसले वाह्य पूँजीको स्वतन्त्र प्रवाहमा समेत अवरोध खडा गरेको छ । दलालीवाट प्राप्त हुने सीमित लाभको चक्करमा त्यस्तो अर्धऔपनिवेशीकताले नै पूँजीको विकासमा र प्रकारान्तले अन्ततः पूँजीवादकै विकासमा तगारो हालेको छ । विदेशी पूँजी समस्या होईन । समस्या हो त्यसको एकाधिकारी अधिनता र दलाल वर्ग पैदा गर्ने षडयन्त्र । पूँजी जहाँ छ त्यहीबाट आउने हो । जसरी ंश्रमिक जनताको कुनै मुलुक हुँदैन त्यसरी नै पूँजीको पनि कुनै मुलुक छैन । राष्ट्रिय पूँजी केवल एउटा भ्रम हो । दलाल अर्थतन्त्रको रक्षाकवच हो । त्यस भ्रमबाट कम्युनिष्ट पार्टी उठ्नै पर्छ र त्यस रक्षाकवचलाई च्यातचुत पार्नै पर्छ । नेपालले आफुलाई विश्वव्यापि अर्थतन्त्रसँग एकाकार गर्न हिच्किचाउनु हुँदैन । प्रत्यक्ष विदेशी लगानी र स्वतन्त्र व्यापारको माध्यमबाट दलाल अर्थतन्त्रलाई ध्वस्त गरेर नयाँ युगमा प्रवेश गर्न ढिला भई सकेको छ ।
अनुदानको आशा विदेशी ऋणको आशा भन्दा करिब दुई गुणा बढी गर्ने । अनि प्राप्त गर्दा हामी ऋणको तुलनामा अनुदान ३ गुणा बढी पाउँछौं । फिर्ता गर्नु नपर्ने र पाए जति फोकटमा खान पाइने यो सजिलो पेशाले अल्छी बनाउँछ, उत्पादकत्व बढाउँदैनन् ।
विश्लेषकहरुका अनुसार विदेशी सहायताको परिचालनमा कमी हुनुमा खर्च गर्ने क्षमताको कमी र विदेशी सहायताका शर्तहरु पूरा गर्न कठिनाईलाई कारक मानिएको छ । प्रष्ट छ हामी अल्छि भयौं । खर्च गर्न समेत नसक्ने गरि अल्छि । अनि शर्तहरु कठिन देख्न थाल्यौं । किन कठिन शर्त मान्ने ? किन दुःख गर्ने ? किन मेहनत गर्ने ? यो भन्दा नालायकी के हुन सक्छ ? त्यसैले यो परिस्थितिलाई न उल्टाएसम्म विकास, प्रगति, उन्नती केहि सम्भव छैन ।
२०६७/०६८ को एउटा तथ्यांक हेरौं– जहाँ वैदेशिक सहायताको आशा १४०.६६ अर्वको थियो । जसमध्य ५६.५२ अर्ब मात्र विदेशी ऋणको आशा गरिएको थियो भने बाँकी ८४.१४ अर्ब त फोकटमा पाइने अनुदानकै आशा थियो । जब आशा नै त्यस प्रकारको हुन्छ भने प्रयास पनि त्यस्तै र प्रगति पनि त्यस्तै हुने नै भयो । अब प्रगति तर्फ हेरौं । उपरोक्त आशा मध्य कुल ९३.५५ अर्व विदेशी सहायता प्राप्त भएको रहेछ । अर्थात् ६६.५० प्रतिशत आशा पूरा भएको छ । पूरा भएको आशा अर्थात् ९३.५५ अर्ब मध्य जम्मा २४.७९ अर्व मात्र अर्थात् प्राप्त सहायताको जम्मा २६.४९% मात्र ऋणबाट आएको छ भने बाँकी ६८.७६ अर्ब अर्थात् ७३.५०% त त्यही फोकटमा खान पाइने पैशा पाइएको छ जसलाई पुनर्उत्पादनमा लगाई पूँजी आर्जन गरेर फिर्ता गर्नुपर्ने छैन । त्यसैमा पनि अनेक बाहना बाजी गर्न पाइन्छ । यसरी फोकटमा खाने आशा गर्ने, पहल पनि त्यतै तर्फ गर्ने भएपछि पाउने पनि त्यस्तै भयो । त्यसले जनता र मुलुकलाई अल्छि बनाई उत्पादकत्व ह्रास पाइयो र अन्ततः प्रगति, उन्नति, समृद्धि सबै दन्त्यकथाका पात्रहरु मात्र हुन पुगे ।
पर्दा पछाडिबाट शर्तहरु मञ्जुर गराउने र पूँजीको विकासमा अवरोध खडा गर्ने अनुत्पादक ‘अनुदान’ पूँजीको सट्टा कठोर नै भए पनि प्रत्यक्ष शर्तहरु रहेको वैदेशिक ऋण एवं प्रत्यक्ष विदेशी लगानी नै उपयुक्त बाटो हो । विश्व बैंक र मुद्रा कोषका पैसाले युरोप विकसित हुन सक्छ, हामी किन सक्दैनौ । ऋण केवल बोझ वा भार होइन त्यो दायित्व र विश्वास पनि हो । त्यो पूँजी संकलनको बहु प्रचलित र परिक्षण गरिएको उपाय हो । ऋणबाट हामी बिशाल पैमानामा पूर्वाधारको विकास गरौं ता कि वाह्य पूँजीले भित्रिने अवस्था देखोस् । यस्तो लगानी मैत्री वातावरण बनाऔं कि सकेसम्म प्रत्यक्ष विदेशी पूँजी भित्रियोस् ।
सकेसम्म विदेशी ऋण लिई पूर्वाधारको विकास, विदेशी प्रत्यक्ष लगानी (Foreign direct investment) वाट रोजगारीको सृजना र स्वतन्त्र व्यापार (Free trade) का माध्यमवाट वस्तुको छनौट सहितको पर्याप्त उपलव्धता प्राप्त गर्न सकिनेछ । यो नै समृद्धीको वाटो हो । यस सत्यलाई जतिसक्दो छिटो आत्मसात् गर्ने र बढी भन्दा बढी मुलुकको अर्थतन्त्रसँग बढी भन्दा बढी साझेदारी गर्ने कामले नै अन्ततः सामन्तवादी–साम्राज्यवादी अर्थतन्त्र र त्यसलाई जोगाउन निर्वाचित, मनोनित, छनौट सबै विधिबाट तयार पारिएको दलाल नोकरशाही तन्त्रबाट मुक्ति मिल्नेछ । यही बाटोवाट नै प्रारम्भिक पूँजीवाद आक्रामक रुपमा विकसित हुदै वचेखुचेको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था समेत ध्वस्त गर्दै अग्रगमन तर्फ पदार्पण गर्नेछ । त्यसको सट्टा हुदै नभएको राष्ट्रिय पूँजीपतिवर्गको नेतृत्वमा, हुदै नभएको राष्ट्रिय पूँजीले कथित राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै हतार हतारमा समाजवाद तर्फ जाने कुरा सपना हो, स्वैरकल्पना हो ।
No comments:
Post a Comment