Sunday, May 15, 2016

कामरेड मदन भण्डारी प्रति हार्दिक श्रद्धान्जली !

कामरेड मदन भण्डारीलाई सम्झिनु पर्ने कारण अरु केही नभएर नेपाली क्रान्तिमा उहाँका योगदान नै हुन् । मुख्य गरी नेपाली क्रान्ति के, कस्तो र कसरी का सन्दर्भमा वुर्जवा पार्टीहरु देखि सर्वहारा वर्गीय पार्टीहरु समेत संग तत्काल सम्म रहेको अस्पष्टता, अन्यौल र अकर्मण्यता चिर्दै उहाँको अगुवाईमा विकास गरिएको “नेपाली क्रान्तिको कार्यक्रम जनताको वहुदलिय जनवाद” नै उहाँलाई सम्झनु पर्ने प्रमुख कारण हो । त्यसलाई थप विकसित गर्दै कार्यान्वयन गर्नु उहाँ प्रतिको साँचो श्रद्धान्जली हो । यसै सन्दर्भमा प्रस्तुत छ मेरो पुस्तक "क्रान्तिका कुरा" वाट उद्धरण गरिएका सान्दर्भिक अंश ।

…………………………. एउटा राजनीतिक दलले पुरानोको अन्त्य र नयाँको निर्माणका लागि वनाउने र नलुकाईकन सार्वजनिक घोषणा गर्ने विषय क्रान्तिको कार्यक्रम हो । का. मदन भण्डारीले यसलाई ‘पार्टीले सार्वजनीक रुपमा फहराएको आफ्ना लक्ष्य सहितको झण्डा’ भन्नुभएको छ ।

………………………… मदन भण्डारीले पनि जनवादलाई मूलरुपमा राजनीतिक पद्दति भएको र समाजमा रहेको अर्थतन्त्र अर्थात उत्पादन पद्दतीले यसको आधारको काम गर्ने कुरा वताउनु भएको छ ।

…………………………. राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति र अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनको अनुभवबाट सिकेर का. मदन भण्डारीको नेतृत्वमा नेपाली विशिष्टताको नयाँ (जनताको) जनवादी (लोकतान्त्रिक) क्रान्तिको कार्यक्रम अगाडि ल्यायो । यस अघि नेपाल कम्यूनिष्ट पार्टीले तय गरेको नेपाली नयाँ जनवादी क्रान्तिको कार्यक्रममा केही विशेषताहरु समेत थप गरेर प्रस्तुत गरिएको त्यस कार्यक्रमलाई जनताको बहुदलीय जनवाद भनियो ।

…………………….. का. मदन भण्डारीका अनुसार जनताको वहुदलीय जनवाद भनेको यस्तो जनवादी राज्यसत्ता (अधिनायकत्व) हो जसको शासन प्रणालीमा वहुदलीय प्रतिस्पर्धा रहेको हुन्छ ।

…………………………….. २०६२/०६३ को जनआन्दोलन एउटा जनक्रान्ति थियो जनताको जनवादी क्रान्ति । का. मदन भण्डारीले भने झैं जनताको नेतृत्वमा सम्पन्न यस जनक्रान्तिले नेपाली जनताको शत्रुको रुपमा रहेको सामन्त तथा दलाल वर्गको गठजोड समाप्त पारेको छ । त्यसको नाईकेलाई सत्ताच्यूत गरेको छ र संयुक्त जनवादी सत्ताको स्थापना गरेको छ ।

………………………… नयाँ जनवाद (जनताको वहुदलीय जनवाद) लाई राजनीतिक, आर्थिक, सामाजिक, साँस्किृतिक सवै हिसावले सुदृढ नवनाई हतारमा, वलपूर्वक समाजवादको स्थापना गरे मदन भण्डारीले वताउनुभए जस्तै त्यसको दिगोपना हुनेछैन ।

……………………… जनताको वहुदलीय जनवाद का. मदन भण्डारीको नेतृत्वमा नेकपा एमालेले विकसित गरेको कुरा सत्य हो तर यो नेकपा एमालेको मात्र कार्यक्रम होईन ।

……………………. का. मदन भण्डारीको अगुवाईमा आएको यस कार्यक्रमले ठोस र मुर्तरुप लिन नपाउँदै उहाँको रहस्यमय दुर्घटनामा परि मृत्यु भएपछि उक्त कार्यक्रमको थप व्याख्या विश्लेषणको जिम्मा कसैले लिएन । नयाँ परिवेशमा जाँदा ल्याइएको त्यो कार्यक्रम सारमा यस अघि कम्युनिष्ट पार्टीले भन्दै आएको नयाँ जनवाद भन्दा भिन्न नभए पनि रुप, विधि र प्रक्रियाका क्षेत्रमा भने नौलो थियो । एकातिर यो नविन विषय हुनु, अर्कोतिर यसका प्रमुख संश्लेषक एवं व्याख्याता का. भण्डारीको निधन हुनु र अरुले या त विरोध मात्र गर्नु या त्यसको लिगेसीका लागि हानथाप मात्र गर्नुले यसलाई थप विश्लेषण, संस्लेषण र व्याख्या गर्ने काम अवरुद्ध भयो ।


…………………… नेपाली क्रान्तिको कार्यक्रममा रुपमा जनताको बहुदलीय जनवादको विकासमा का. मदन भण्डारीले नेतृत्वदायी भूमिका निभाउनुभयो । उहाँले आफूले सकेजति त्यसको व्याख्या विश्लेषण पनि गर्नुभयो । नयाँ ढंगले सोचिएको कार्यक्रमका कैयौं अदृश्य पाटा हुन्छन् । कैयौं नसुल्झिएका गुत्थीहरु हुन्छन् । अस्पष्टता र अन्यौल हुन्छ, रोचकता र रोमाञ्चकता हुन्छ । दुर्भाग्यवस ति सवको समाधान नहुदै का. भण्डारीको अवसान भयो । तर पनि उहाँले यसका सन्दर्भमा जे जति लेख्नुभयो सबैमा एउटै कुरा लेख्नुभयो कि यो नयाँ जनवादी क्रान्तिको कार्यक्रम हो । यसको शासकीय स्वरुप बहुदलीय हुनेछ । मानव जातिले आफ्नो विकास क्रममा आर्जन गरेका असल उपलब्धीहरुलाई यसले आत्मसात् गरेको छ र गर्नुपर्छ । तर उहाँले यसैलाई सिद्धान्त कहिल्यै बताउनु भएन । एउटा असल कम्युनिष्ट भएर उहाँले माक्र्सवाद–लेनिनवाद प्रति सधैं श्रद्धा राख्नुभएको र जनताको बहुदलीय जनवादलाई आफ्नो क्षमताले भ्याए सम्म माक्र्सवाद– लेनिनवादबाट अनुप्राणित गर्ने, त्यसैको आलोकमा चम्काउने र व्याख्या, विश्लेषण र विकास गर्नुभएको पाईन्छ । जनताको बहुदलीय जनवादका सन्दर्भमा लेखिएका आफ्ना सबैजस्तो लेखाईहरुमा उहाँले यसलाई माक्र्सवाद सम्मत भएको पुष्टि गर्नमा नै आफूलाई केन्द्रित राखेको पाईन्छ । उहाँले ‘यो आफैमा सिद्धान्त हो, यसले कसैको भर पर्नु पर्दैन’ भनेर कतै प्रकट गरेको या छद्म रुपले पनि त्यस प्रकारको दम्भको प्रदर्शन गरेको देखिदैंन । वर्तमानमा जनताको वहुदलीय जनवादका सन्दर्भमा देखिएको सवैभन्दा महत्वपूर्ण विवाद र विरोधाभाष नै यो सिद्धान्त हो की कार्यक्रम हो भन्ने हो । यसै विवादको समाधानवाट नै अहिले सतहमा देखिएका सैद्धान्तिक–असैद्धान्तिक विवादहरुको समाधानमा योगदान पुग्नेछ । त्यसैले यस विषयमा चर्चा गर्नु सान्दर्भिक छ ।

No comments: