Monday, August 15, 2016

देश निकाला की उद्धार ? धिक्कार ! धिक्कार !!

मानवअधिकार र महिला अधिकारका वारेमा काम गर्न नसके पनि कुरा धेरै गरेको छु । शासक, प्रशासक देखि समुदायको तल्लो तह सम्मकालाई झकझक्याएको छुँ । लेखेको छु । लेख्नेहरुलाई सघाएको छुँ । तर मैले कुरा नवुझेकै हो रहेछ त ? आज विहानै देखी मन विचलित छ ।

नेपाली केटाले विदेशी केटी विहे गर्दा नेपालमा वैवाहिक नागरिकता खासै असजिलो छैन । सामान्यतया त्यस्तो विवाह भारतवाट हुनेगर्दथ्यो । समय वदलिएको छ र नेपालीहरुको सरसम्पर्क विभिन्न मुलुक संग वढ्दो छ । कुनै केटि संग विहे गरेर दुई दुई वच्चा सम्म जन्माई सकेपछि आज घरकाले "तिमि यो घरको होईनौ आफ्नै माईति जाउ" भन्यो । एउटा परिवारमा त्यसो गर्दा घर निकाला मानिन्छ । तर देश निकालालाई उद्धार गरेको भनिदैछ । कुरा वुझुनु भन्दा नवुझनु जाति हो की ? फिलपिनो केटीले नेपाली संग विहे गरी । नेपाल आई । दुईवटा वच्चा जन्माई । दुईवटा वच्चा जन्माउदा सम्म कम्तिमा दुई वर्ष त हुन्छ । दुई दुई वर्ष सम्म केटोले विवाह दर्ता गरिदिएन । को दोषी ? केटो की नेपाली कानून नजान्ने अवोध फिलिपिनो ? के नेपाली केटी नै हुन्थी भने विवाह दर्ता नगरे कै भरमा सरकार र नागरिक समाज मिलेर उसलाई घर र देश निकाला गरिन्थ्यो ? के धोकेवाज केटाको सम्पत्ति माथी श्रीमतीको हक समाप्त हुन्थ्यो ? के जन्मेका वालवालीकाको न्वारन हुदैन थ्यो ? अचम्म त के भयो भने दुईजना नावालक नेपाली नागरिकलाई पनि संगै देश निकाला गरियो । फिलिपिनो त विदेशी महिला भई रे । ति वच्चा त नेपाली नागरिक नै होलान नी । के नागरिकलाई देश निकाला गर्न पाउने कुनै कानून छ नेपालमा ? उनिहरु अवोध वच्चा हुन् अवोध वच्चाका तर्फ वाट को वाल्ने, किन वोल्ने ? मानवता समाप्त भए पछि के वाँकी रहन्छ ?

मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, नागरिक अधिकारकर्मी, वाल अधिकारकर्मी कसैलाइ मतलव भएन किन भने उ हाम्री छोरी होईन वुहारी हो । अनि कुनै वुहरीका लागि किन वोल्ने ? त्यसमा पनि फिलिपिनो । फिलिपिन्सले चाहे पनि नेपाललाई नाकावन्दी लाउन सक्दैन । मानवअधिकारको विषय कस्मोपोलिटन हुन्छ भनेर नथाक्ने वडवोले वुज्रुकहरु धिक्कार छ । घिनै लाग्दो त के भने अझ फिलिपिन्स संग जरिवाना मागिदै छ रे ।

एउटी केटी विहे गरेर ल्याउ, वच्चा जन्माउ, दर्ता नगर, कुटपिट गर, घरवाट निकाल, वच्चा समेत उसैसंग निकाल । समाज मिलेर घर निकाला गर्नमा मद्दत गर । अनि उद्धार गरेको घमण्ड गर । थप त्यति दिन सम्म त्यस घरमा वसेवापत भाडा असुल गर, भोज गर, मोज गर । २१ औं सताव्दिको मेरो नेपाल । नयाँ नेपाल ।