हरेक वर्ष दशैं ताका नेपालीहरु वलीप्रथाका विपक्षमा मौषमी अभियान चलाउछन् । दशैं जान्छ अनि त्यो अभियान अर्काे वर्षको टाईमपासका लागि सुरक्षित गरिन्छ । यस्तो वहस गढीमाईको पाँचवर्षे मेलाका वेला पाँचवर्षे रुप मै हुन्छ । फेसवुक, टुइटर जस्ता सामाजिक संजालहरुको प्रयोगको व्यापकता संगै व्यापकता पाईरहेको सजिलो आन्दोलन (मान्छे जम्मा गर्नु नपर्ने, कुनै झण्डा व्यानर पनि नचाहिने, गर्मी या वर्षातले पनि दुःख नपाईने, पुलिसले पनि नसमात्ने, कोठामा वसेर आरामले इलेक्ट्रोनिक डिभाईस मार्फत गर्न सकिने) यसवर्षको दशैंभरी पनि खुव चल्यो । कतिपयले हिन्दुहरु पशुवली दिने जांगल सभ्यताका पक्षपाती भएको भनेर विरोध गरे भने कतिपयले पवित्र हिन्दुधर्मलाई अपवित्र वनाईरहेकोले वली प्रथा राक्नुपर्ने तर्क गरे । कतिपयले यसलाई मांसाहार विरुद्ध शाकाहारको पक्षमा प्रचारमा प्रयोग गरे र कतिपयले पशु अधिकारको विषय वताए । खर्च जोगाउन देखि पापवाट वच्न वलीप्रथाको विरोध गर्ने अनेकथरी अभियन्ताहरु देखापरे । वलीप्रथाका समर्थकहलाई गालिगलौच गर्नेहरु पनि देखिए । यसै विषय सन्दर्भमा यहाँ छलफल गरिनेछ ।
मुख्य खाना नै मासु भएको युगमा पशुहिंसा सर्वस्विकार्य हुनु स्वभाविक थियो । दुनियाँको कुनै सभ्यता मांसाहारी थिएन भन्ने दावि भेटिदैन । सभ्यता विकास क्रममा मांसाहार साँघुरिदै गएको मात्र हो । सिन्धु सभ्यता मांसहारवाट शाकाहार तर्फ संक्रमित भएको पहिलो सभ्यता मानिन्छ । जाङ्गल युग मांसाहरी नै थियो र मासुको खोजिमा घुम्दा घुम्दा थाकेकाहरुले पाल्न सुरु गरेका पशुहरु कसैले माया गरेर पालेका नभई खाना कै लागि पालेका थिए । तर छ महिना, वर्ष दिन लगाएर पालेको पशु खानामा प्रयोग गर्दा थोरै समयमा धेरै पशुहरुको वध गर्नुपर्ने भएकोले ठुलो संख्यामा पशुपाल्नु पर्ने अवस्था, पशुधनको कष्टसाध्य रेखदेख र सुरक्षा, पशुपालनका क्रममा घाँसको खेतिवाट सुरुभएको खेतिपाति र अन्न उत्पादनको नयाँ प्रविधि संगको परिचय आदि परिवेशजन्य कारणहरुले समयक्रममा मुख्य खानाको ठाउँ मासुको सट्टा अन्न तर्फ संक्रमित हुदै गयो । पशुको प्रयोग कृषिको सहायकका रुपमा परिणत भयो । मासु अन्नको सहायक खानामा परिणत भयो । दुध, घ्यु खाने तर मासु, रगत वा वासो नखाने चलनमा दिगो उपयोग नीति र प्रविधि विकासको लक्षण प्रष्ट हुन्छ । तर पनि अतिथि सत्कार, पुजा पर्व वा त्यस्तै विशेष अवसरमा मासुको प्रयोग रोकिएको पाइदैन । खोजि खाने युगमा समेत प्राप्त खाना समुह प्रमुखलाई वुझाउने र उसैले वाडेर खान दिने चलनको विकास गरिसकेको मान्छेले विशेष वेलामा मात्र खान पाईने गरी विशेष खानामा विकास हुदै गएको मासुलाई आफ्ना परिवार प्रमुख वा गण प्रमुखलाई खान नदिई आफै मात्र कसरी खान सक्थ्यो र ? यसरी परिवार प्रमुख वा गण प्रमुखलाई चढाएर खाने चलन विस्तारै मृत परिवार प्रमुख (पितृ) र मृत गण प्रमुख (देवी–देवता) लाई चढाउने तर्फ विकसित हुनु आश्चर्य के भो र ?
समाज नीयमनको ठाउँ धर्मले लिएपछि पनि आफु जे खाने त्यही पुज्यलाई चढाउने कुरा जायज हुने नै भयो । आज पनि जुन समुदायमा जे मुख्य खानाका रुपमा खाईन्छ त्यहि आफ्ना पुज्यलाई चढाउने चलन कायम छ । मासु पनि त्यस्तै हो । जैन जस्ता एकदुई धार्मिक मान्यताहरुलाई अपवाद मान्ने हो भने सवै धर्ममा मासुको प्रयोग कुनै कुनै रुपमा चलिनैरह्यो । हिन्दुधर्मको शाक्त सम्प्रदाय र वाममार्गी तान्त्रिकहरु धार्मिक प्रयोजन कै लागि पशुवध गर्नेहरु मध्ये चर्चित छन् यद्दपि हिन्दु, मुस्लिम, इसाई, सिख, यहुदी आदि तथा कतिपय वुद्धमार्गीहरुका धार्मिक संस्कारहरुमा समेत पशुवध र मासु वा रगतको प्रयोग कुनै न कुनै रुपमा भैरहेकै देखिन्छ । तर आफुले खानका लागि मारेका पशु अरुसंग वाँडेर खाने चलन सिकारयुग मै सुरु भयो । प्राप्त खाना परिवार प्रमुख वा गण नायकलाई वुझाउने र उसैले सवैलाई वाँडेर दिने चलन त्यहि युगमा सुरु भयो । कतिपय विद्वानहरु त सिकारयुगमा मान्छेले खानाका लागि मारेका पशुहरु प्रति जन्मने दयाभाव नै धर्मको प्रारम्भको कारण हो भन्ने मान्दछन् । त्यसैले सवै सभ्यता तथा धार्मिक सम्प्रदायमा पशुहिंसा र मांसाहार गर्ने चलन संगसंगै पशुहिंसा र मांसाहार गर्नु हुदैन भन्ने मान्यता पनि चलिआएको छ ।
धार्मिक प्रयोजनका लागि पशुवध गर्नु र मांशाहारी हुनु फरक कुरा हो । पशुवली गर्ने तर मांशाहार नगर्ने, मांशाहार गर्ने तर पशुवली नगर्ने कयौं छन् । न सवै पशुको वली दिईन्छ न सवै पशुको मासु खाईन्छ । (मुलिमहरु र हिन्दु व्राह्मणहरु सुगुर छुदैनन् र सुगुरको मासु खादैनन्, हिन्दुहरु गाईको मासु खादैनन् ।) कतिपय त वली चढ्ने तर मासु नचल्ने पशुहरु छन् जस्तो की कतिपय हिन्दु जातिहरुमा लागि राँगो । कतिपय समाजमा स्त्री जाति चौपायाको वलि दिने चलन छ भने कतिपय समाजमा स्त्री जाति चौपायाको वली निषिद्ध छ । अझ कतिपय समाजमा त स्त्री जाति चौपायाको वली नगर्ने तर सामान्य उपभोगका लागि भने काटमार गर्ने चलन छ । अनुष्ठान तथा संस्कारगत रुपमा पशुवली दिने कैयौं हिन्दुहरु नैष्ठिक निरामांश (निर्माउसे) छन् । उनिहरु मासुलाई अभक्ष ठान्दछन तर निश्चित अनुष्ठानका लागि वा संस्कारका लागि त्यसको आवस्यकता वा अनिवार्यतालाई स्विकार गर्दछन् । हिन्दु समाजमा र अझ खास गरेर व्राह्मण समाजमा यस्तो अवस्था वढी देखिन्छ । हिन्दु समाजको विकासक्रम अत्यन्त लामो छ । यिनिहरु कयौंवेला फरक सम्प्रदायमा विभक्त हुने र एक आपस मै नमिल्ने खालका संस्कारहर विकसित गर्ने अनि समयक्रममा कतिपय परिवेषले (खासगरेर विधर्मीहरु संगको संघर्षका क्रममा) एकता गर्ने र एकतागर्दा संस्कारगत अन्तरघुलन पनि हुदै जाने भएकोले यस्तो विविधता उनिहरुमा धेरै छ (अरुमा हुदै नभएको भने होईन) ।
हुँदा हुँदा कसरी काटेको खाने र कसरी काटेको नखानेमा समेत समाज विभक्त छ । मुस्लिम समाजमा हलाल (पवित्र) खानाको प्रचलन छ । अनुष्ठानका लागि काटिने मासु मात्र होईन सामान्य उपभोग र व्यापारका लागि काटिने मासुमा समेत निश्चित संस्कार छ, तरिका छ । पारम्परिक रुपमा शिखहरु मासु खान हुने वा नहुने कुरामा वहस गर्नुलाई मुर्खता ठान्दछन् । तर समयक्रममा शिखहरुमा एकै झट्कामा काटेको मात्र खाने चलन चल्यो, कितिपय हिन्दुहरुमा समेत । वौद्धमार्गिहरुमा वुद्ध कै पाला देखि चलिआएको एउटा कुरा के छ भने भिक्षामा जे दियो त्यो खाने । मासु दिए के गर्ने ? मासु नै दियो भने पनि खाने तर के कुरामा सचेत रहने भने त्यो मासु भिक्षा दिन कै लागि भने काटिएको नहोस् । वुद्धको तिव्वत यात्राको कथा प्रचलित नै छ । अहिले पनि कतिपय वुद्धमार्गीहरुमा पनि अरुले दिएको मासु खानहुने, हतियारको प्रयोग नगरी मारेर खानहुने वा मरेको खान हुने जस्ता मान्यता देखिन्छन् ।
इसाईहरुमा खान हुने र नहुनेको झंझट खासै देखिदैन । पछिल्लो समयमा शाकाहारी हुन प्रेरित गर्ने गरेको पाईएकोले यो समाज मांसाहारी थियो र छ भन्न सकिन्छ । धर्मका नाममा पशुहिंसा हुने गरेको यस समुदायमा पनि पाईन्छ । कतिपय इसाईहरुमा पापवाट मुक्तिकालागि पशुवली दिने मान्यता छ । अझै पनि कतिपय इसाई मतावलम्वीहरुमा भेडा, कुखुराको वली दिने चलन छ । इसाईहरुको प्रमुख पर्व क्रिस्मसका मुख्य खानाहरुमा हाँसको मासु प्रमुख हो । यहुदीहरुमा त मन्दिरमा पुशलाई जलाएर वली दिने चलन समेत थियो । यो चलन जनावर प्रतिको दयाका कारण भन्दा पनि जेरुसेलममा रहेको उनिहरुको मुख्य मन्दिर भत्काइएकोले त्यसको पुनःनिर्माण नभए सम्म नगर्ने भनि रोकिएको हो । सन ७० मा रोमनहरुले ध्वस्त गरिदिएको त्यस मन्दिरको पुनः निर्माण हुनेछ र यो चलन पुनः सुरु हुनेछ भन्ने विश्वास उनिहरुमा अझै छ । धार्मिक नभए पनि सामाजिक–साँस्कृतिक रुपमा थ्यांक्स गिभिङ्ग दिवशहरुमा काटिने टर्कीहरुको चर्चा त व्यापक रुपमा हुनेगरेकै छ ।
वलि प्रथाको विरोध भइरहेको कुरा कनै नयाँ र अद्भुत विषय होईन । इतिहासको लामो कालखण्ड अघि देखि नै वली प्रथाका विरुद्धमा सानाठुला प्रयासहरु भइआएकै छन् । सामान्यतया ति विरोधहरु करुणाजन्य थिए, काल्पनिक थिए र पारमार्थिक स्वार्थमा थिए । पूर्विय समाजमा वुद्ध, शंकराचार्य, दयानन्द सरस्वती आदि अनेक विद्वानहरुले गरेका प्रयासहरु प्रशिद्ध छन् । चारवाक मतका एकजना विद्वानले त यति सम्म भने कि ः
पशुश्चेन्निहतः स्वर्गं ज्योतिष्टोमे गमिष्यति ।
स्वपिता यजमानेन तत्र कथं न हिंसेते ।।१।।
यज्ञमा मारिएको पशु स्वर्ग जान्छ भने यज्ञमै आफ्ना वावुलाई मारेर किन स्वर्ग पठाउदैनौ ?
त्यो त्यतिवेलाको कुरा थियो । तर अहिलेको कुरा फरक छ । मासु मानवजातिको उत्पत्तिकाल देखि कै मुख्य खाना रहिआएको छ । खोजिखाने वेला देखि नै खोसिखाने चलन पनि सुरु भएको हो । विस्तारै वेचिखाने र किनिखाने अहिलेको युग आयो । आजको युग सम्म आईपुग्दा उत्पादन र उपभोग, संचय र वितरणका अनेकौं नियम र सिद्धान्तहरु वनाईए । तत्कालिन समाजको उत्पादन पद्दतिका आधारमा ति नियमहरु परिमार्जित हुने समाप्त हुने र नयाँ वन्ने क्रम निरंतर छ । एउटा युगको पटाक्षेप संगै नयाँ युगको आरम्भ हुनु र सोहि अनुसारको नियमहरु वन्दै जानु स्वभाविक छ । तर यस्तो युग समाप्ति र प्रारम्भ रातारात हुने होईन । यसले एउटा लामो कालखण्ड लिन्छ । त्यस अवधिमा पुरानोको विरोध र नयाँको पक्षधरता वा नयाँको विरोध र पुरानैको पक्षधरता स्वभाविक हो । अहिले नेपाली समाज पनि सामन्तवाद वाट पुँजीवाद तर्फ संक्रमणको अवस्थामा छ । यसवेला कैयौं पुरना कुराहरु अनावस्यक लागि रहेका छन् र कतिपय नयाँ कुराको वकालत भईरहेको छ । वलीप्रथाका विरुद्धको अहिले देखा परिरहेको अभियान पनि प्रकारान्तले सामन्तवादका विरुद्ध पुजीवादको पक्षधरता हो । अहिले भईरहको विरोध पारमार्थिक होईन आर्थिक हो । उपभोक्तावाद प्रेरित हो । (अहिले पनि पारमार्थिक रुपले विरोध गरिरहेकाहरु छदैछैनन् भन्ने दावि गरिएको हैन तर विरोधको मुख्य प्रवृत्ति त्यसो होईन मात्र भन्न खोजिएको हो ।)
चाडवाड, संस्कार र संस्कृतिहरु सामाजिक–आर्थिक नियमनका हिस्साहरु हुन् । संचित पूँजीलाई पुनःवितरणका लागि हरेक समाजले अनकौं प्रकारका उपायहरु अपनाएको पाईन्छ । दशैं होस वा विहेभोज संचित पूँजीको पुनःवितरणका उत्तम उदाहरणहरु हुन् । वर्षभरी वोको हुर्काउने, डोर्याउदै सहर ल्याउने, साहुलाई वेच्ने र आएको पैशाले नुन, तेल, कपडाको जोहो गर्ने अनि मासुखाने रहर गाउँ फर्केर सामुहिक रुपमा काटेको वोकोको प्रसादले पुरा गर्ने गरिन्थ्यो, गरिन्छ । त्यसैले सहरमा दशैं नीजि हुन्छ, हुन्थ्यो गाउँमा सामुहिक । खाना किनवेचको विषय वनेपछि वजारले वर्षभरीको लागि खानाको व्यवस्थापन गर्नुपर्नेमा एकैहप्तामा लाखौं पशु वली दिएर समाप्त गरिने भएपछि वजार असन्तुलित हुनु स्वभाविक छ । संस्कारका नाममा पशु पंक्षि किसानवाट सिधै उपभोक्तका घरघरमा पुग्न र पाक्न नरोक्नेहो भने वजार निर्णयक कसरी हुन्छ ? अनि किसानले पनि दशैंलाई नै लक्षित गरि उत्पादन गर्ने भए पछि वर्षभरीको आपुर्तिमा देखा पर्ने अभावको व्यवस्थापन कसरी गर्ने ? यीनै विषयहरुको ओरपर अहिलेको पशुवली विरोध घुमेको छ । शाकाहारी अभियान पनि नयाँ खालको व्यापार प्रवद्र्धन हो भन्ने विषय लुकेको छैन । उपभोक्तावाद पूँजीवादको प्रवद्र्धक त हो नै ।