कुनै रोग संग लडिरहेकाहरुका लागि नयाँ औषधी वा उपचार विधीको आविष्कार थप आशाको किरण वन्दछ । जसले उनिहरुको जीवनमा नयाँ उत्साह पैदा गर्दछ र उपचार पछिको सुखद जीवनको कल्पनाले उस्लाई पिडा विर्सन मद्दत गर्दछ । तर वास्तविक जीवनमा त्यस आविष्कारको सार्थकता तवमात्र सिद्ध हुन्छ जव त्यो औषधी वा उपचार पद्दति विरामीको पहुँच सम्म आईपुग्छ र उसले उपचार पाउछ । रोग, विरामी र उपचारका सन्दर्भको यो उदाहरण राजनीतिक जीवनमा पनि उस्तै हो । कुनै राजनीतिक घटनाक्रम, परिवर्तन वा अन्वेषण आम जनताका लागि उत्साह पैदा गर्ने विषय हुनसक्छन्, सम्भव छ कि ति घटना वा परिवर्तन वा अन्वेषणले सुखद भविष्यको कल्पनामा विगत र वर्तमानका पिडा विर्सन जनतालाई मद्दत पनि गरोस् । तर ति घटना, परिवर्तन वा अन्वेषण जनताको पहुँच भित्र आईपुग्यो कि पुगेन ? तिनको परिणामले जनताको जीवनलाई छोयो की छोएन ? त्यसले मात्र तिनको सार्थकतालाई सिद्ध गर्दछन् ।
नेपालको राजनीतिका पछिल्ला वर्षहरु विभिन्न सुखद घटनाहरुले भरिएका छन् । सामन्ती राजतन्त्रको विरुद्धको लामो संघर्षले सफलता प्राप्त गरेको छ, मुलुकको ईतिहासमा नै पहिलो पटक जनताले आफ्नो सम्विधान आफै वनाएर लागु गरेकाछन् । समाजका हेपिएका र पछाडी पारिएकाहरु पनि राज्य सञ्चालनमा उपस्थित हुनसक्छन् भन्ने देखिएको छ । पुजिवादी जनवादी क्रान्ति सम्पन्न भई जनवादी सरकार स्थापना भएको छ आदि इत्यादि । तर मुख्य कुरा के हो भने तिनले परिवर्तनलाई जनताको पहुँच भित्र ल्याईपुर्यायो कि पुर्याएन ? तिनको परिणामले जनताको जीवनलाई छोयो की छोएन ? यदि त्यसो हुन सकेको होईन भने तिनको सार्थकतालाई सिद्ध गर्न सकिदैन ।
मुलुकमा भर्खरै दुई ठुला राजनीतिक दलहरु विच एकिकरण सम्पन्न भएका छन् । जसले नेपाली समाज एकपटक मज्जाले तरङ्गित भएको छ । यद्दपि राजनीतिक वृत्तमा कुनै दलहरुको गठन, विघटन, पुनःगठन, एकिकरण वा विभाजन सामान्य घटना हुन् । वहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्था अन्तरगत त यस्ता घटनाहरु खासै उल्लेख्य पनि होईनन् । नेपालमा पार्टी पद्दतिको इतिहास एकिकरण, विभाजन र पुनःएकिकरणवाट भरिएको छ । नेपाली राष्ट्रिय कँग्रेस र नेपाल प्रजातन्त्र कँग्रेस एकिकरण हँुदै नेपाली कँग्रेस वने देखि यो वन्ने र भत्कने क्रम अहिले सम्म पनि जारि छ । ६ सालमा गठन भएको कम्युनिष्ट पार्टी कति टुक्रमा विभाजित भयो र कतिपटक को को मिले भनेर पिएच डी थेसिस नै लेखियो । राजनीतिक दलहरु माथि प्रतिवन्ध लगाईएको र सत्ताको खेलमा संलग्न हुन नपाएको अवस्थामा समेत दलहरु विभाजित तथा एकिकृत हुने गरेवाट केवल सत्ता स्वार्थले मात्र उनिहरुलाई विभाजित वा एकिकृत गर्छ भन्ने तर्कको खण्डन गर्दछ । “माओका कति जना श्रीमती थिए भन्ने विषयमा समेत नेपाली कम्युनिष्टहरु विभाजित भएका छन्” भन्ने ठट्यौली यहाँ नेर सान्दर्भिक छ । पञ्चायतको अन्त्य पछि पनि पञ्चायती लिगेसी र राजतन्त्रको स्वार्थ रक्षाका लागि खोलिएको राष्ट्रिय प्रजातन्त्र पार्टी खुल्नु अघी नै फुट्यो । राप्रपा कतिचोटी किन फुट्यो र कतिचोटी किन पुनः जुट्यो भन्ने विषयमा पनि पिएच डी थिसिस नै लेखिन वेर छैन ।
तत्कालिन नेकपा माओवादीको प्रचण्ड समुह, वैद्य समुह, वावुराम समुह, विप्लव समुह जस्ता अनेकौं समुहमा विभाजन पछिल्लो कालमा देखिएको उल्लेख्य विभाजन थियो भने संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको एकिकरण अर्को उल्लेख्य एकिकरणका घटनाहरु थिए । यस विच नयाँ शक्ति पार्टी, साझा पार्टी जस्ता उत्तर आधुनिकतावादी पार्टीहरुको गठनले पनि नेपाली समाजलाई तरंगित गर्यो । सानो र नयाँ भए पनि विवेकशील साझा पार्टीको एकिकरण पछिल्लो कालमा चर्चाको विषय नै रह्यो ।
गतसाल आमचुनावको पूर्व सन्ध्यामा मुलुकका दुई ठुला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकिकरण गर्ने घोषणा गरे । आम जनतालाई पारेको प्रभावका आधारमा मुल्यांकन गर्ने हो भने यो घोषणा यस अघि भएका सवै एकता र विभाजनका घोषणा मध्य सर्वाधिक महत्वको रह्यो । यसले आम जनतामा यति ठुलो उत्साह पैदा गर्यो की एकिकरण पुर्व नै केवल गठवन्धन कै भरमा पनि यसले करिव दुईतिहाई जनमत कव्जा गर्यो । त्यस घटनाले मुख्य विपक्षि दललाई यस्तो विक्षिप्तता तर्फ धकेलिदियो कि उ आज निर्वाचनको महिनौं सम्म पनि समिक्षाका नाममा अकर्मण्यताको सिकार भएको छ । उता हुन्छ र हुन्नका विचको लामो जिद्दोजहद पछि भर्खरै दुईदल विच एकिकरण सम्पन्न भएको छ । दुवै दलका नेताहरु यसलाई सफल घटनाका रुपमा व्याख्या र विश्लेषण गरिरहेका छन् भने र कार्यकर्ताहरु दीपावली गरिरहेका छन् । जनतामा पनि एक प्रकारको आशा संचारित भएको छ ।
कम्युनिष्ट पार्टी गरिखाने वर्गको पार्टी हो । एउटा यस्तो पार्टी जसले गरिखाने वर्गलाई संगठित र शिक्षित गर्दै शासकीय भूमिकामा मात्र पुर्याउदैन वरु त्यस वर्गको उन्नति प्रगतिमा अवरोध पुर्याउने सम्पूर्ण शोषण र उत्पिडनका जालाहरुलाई च्यातचुत पारेर मानवमुक्तिको क्षेत्रमा एउटा अभूतपूर्व योगदान पुर्याउछ । यस अर्थमा यो सम्पूर्ण मानव समाजको हितकारी पार्टी हो । यस्तो पार्टी विभाजित रहनाले गरिखाने वर्गका मुक्तिका चाहनाहरु र त्यस चाहनाको पुर्तिका लागि आवस्यक पर्ने संकल्प र संघर्षहरु पनि विभाजित हुनजाने भएकोले कम्युनिष्ट पार्टी एकिकरणको घोषणाले कुनै रोग संग लडिरेहका विरामीहरु नयाँ औषधी वा उपचार विधीको आविष्कारले आशावादी र उत्साहित भए झैं उनिहरुमा पनि आशा र उत्साह सञ्चार हुनु स्वभाविक छ । तर एकिकरणको घोषणा आफैमा पर्याप्त विषय भने होईन । नयाँ पनि होईन । अव एकिकरणको सार्थकता सिद्ध गर्ने जिम्मेवारी नयाँ पार्टीका नेता तथा कार्यकर्ताका काँधमा आएको छ । यसले शोषण र उत्पिडन संग लडिरहेका नेपाली कामदार वर्गका लागि सुदुर भविष्यको कोरा कल्पना वाँडेर पिडा विर्साउने काम मात्र गर्छ वा शोषण र उत्पिडनवाट मुक्ति पाउने र उनिहरुको वास्तविक जीवनमा परिवर्तन देखिने गरि संघर्षको सहि रुप, विधि र प्रक्रिया तय गर्छ, पार्टी एकिकरणको सार्थकता त्यसैमा भर पर्नेछ ।
धनगढी पोष्ट, २०७५ जेष्ठ ५
No comments:
Post a Comment